काठमाडौ । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ । परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जानकारी दिए । अहिले कोरियामा कोरोना भाइरसको संक्रमण विस्तार भइरहेको छ ।

मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो । ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए । कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो । थेगु दक्षिण कोरियाको उत्तरतर्फ पर्छ ।

चीनदेखि कोरिया नजिक भएकाले पनि कोरोनाको असर बढी देखिएको हो । चीनभन्दा कोरियामा कोरोनाको असर तीव्रगतिमा फैलिएका कारण त्रास फैलिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने बताए ।

प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य, परराष्ट्र र श्रम मन्त्रालयका अधिकारी सम्मिलित बैठक बसेको थियो । दक्षिण कोरियाको वास्तविक अवस्था बुझेर मात्र निर्णय लिइने बैठकले निर्णय गरे पनि तत्काल कामदार नपठाइने निश्चित जस्तै भएको छ । ‘अहिलेको अवस्थामा कसैले पठाउभन्दा पनि पठाउन सक्ने अवस्था छैन्’, दाहालले भने ।

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको ईपीएस कोरिया शाखाका अनुसार एक हजार दुई सय नौ जनाको कन्ट्र्याक आइसकेको छ । गत वर्ष यस अवधिमा एक हजार पाँच सयभन्दा बढीको कन्ट्र्याक आएको थियो । शाखाका अनुुसार फागुन १८ गते एक सय ६२ जनाको उडान तालिका राखिएको थियो । ती सबै १८ गते नै उड्ने नभइ क्रमशः उड्ने गरी तालिका राखिएको थियो ।

यो सिजनमा धेरै नेपाली कोरिया जाने गर्छन् । कोरोना भाइरसको सक्रमण देखिएसँगै चीन, जापान र थाइल्यान्डबाटसमेत कोरिया प्रवेश गर्न रोक लगाइसकेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका ४० हजार कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ५० हजार नेपाली कोरियामा कार्यरत छन् । कोरियामा आप्रवासी कामदारको संख्या २५ लाख रहेको बताइन्छ । दक्षिण कोरियाको प्रायः सबै क्षेत्रमा नेपाली कामदार रहे पनि तुलनात्मक रूपमा थेगु क्षेत्रमै बढी कामदार कार्यरत छन् ।