काठमाडौं । नेपाल ट्रष्टसँग १२ जिल्लामा २१ हजार ५६२ रोपनी जग्गा रहेको थाहा दिइएको छ । मंगलवार ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गर्दै रक्षामन्त्री तथा ट्रष्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले यो विवरण सार्वजनिक गरे । कार्यक्रममा उनले भने, ‘गुमेको १७३ रोपनी जग्गा समेत फिर्ता ल्याउने प्रयासमा छौं ।’

ट्रष्टको विभिन्न जिल्लामा मोहीका नाममा गुमेको जग्गााको विषयमा खोजी होस् भनेर ट्रष्टले औपचारिक रूपमा आग्रह गरिसकेको छ । यसका लागि ट्रष्टको सम्पत्ति र यसको विवरण पारदर्शी रूपमा राखिएको जानकारी पनि ट्रष्ट अध्यक्ष पोखरेलले दिए ।

ट्रष्टको काठमाडौंको मातातीर्थ, थानकोट, सतुंगल र बालाजुमा गरी १७३ रोपनी जग्गा मोहीका नाममा नामसारी भएको छ । मन्त्रिपरिषद्को २६ भदौ २०६४ को निर्णयबाट मोहीका नाममा नामसारी भएको देखिन्छ ।

ट्रष्टको गत पुस मसान्तसम्ममा रु ७८ करोड नौ लाख ७७ हजार ७९३ चल सम्पत्ति पुगेको छ । ट्रष्टको नाममा अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र पाउन्ड स्टर्लिङ ५० हजार १२४ रहेको छ।

नबिल बैंकको पाँच लाख ३३ हजार २४४ कित्ता, होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्ता शेयर ट्रष्टको नाममा रहेको पनि पोखरेलले जानकारी दिए ।

ट्रष्टले हालसम्म विभिन्न ६ वटा ठाउँको सम्पत्तिलाई भाडामा दिएको छ । यस्तो भाडामा दिएको सम्पत्तिमा गोकर्ण फोरेष्ट रिसोर्टले लिएको २७ सय ९२ रोपनी, कन्सेप्ट डेभलपर्स प्रालिले लिएको कमलादीस्थित ५ रोपनी, स्याण्डर्ड चार्टर ब्यांकले ६ रोपनी १२ आना, टाउन डेभलपर्सले १९ रोपनी १२ आना, थामसेर्कु ट्रेकिङले दरबारमार्गमा १ रोपनी १४ आना र थामसेर्कु ट्रेकिङले नै ताहाचलमा ४ रोपनी चार आना जग्गा भाडामा लिएको छ ।

यसका साथै छोटो अवधिका लागि सार्वजनिक खरीद तथा अनुगमन कार्यालय, गरीबी निवारण कोष, वैदेशिक रोजगार विभाग र निजामती आवासीय विद्यालयलाई ट्रष्टको सम्पत्ति भाडामा लगाइएको छ ।

ट्रष्टले आगामी दिनमा शिक्षा, स्वास्थ्य, पर्यटनमा पनि लगानी गर्ने गरी कार्यविधि बनाइरहेको मन्त्री पोखरेलले बताए । उनका अनुसार पर्यटनमा होमस्टेतर्फ शिक्षामा पुस्तकालय तथा आईटी ल्याब एवं छात्रवृत्तिमा पनि लगानी गर्ने गरी कार्यविधि बनाउने काम भइरहेको जानकारी दिए ।

ट्रष्टको विभिन्न जिल्लामा रहेको जग्गामध्ये ७० प्रतिशत धादिङमा मात्रै छ । ट्रष्टको धादिङमा १५ हजार १०१ रोपनी जग्गा छ भने बाँकी जग्गा चितवन, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, काभे, मकवानपुर, धनकुटा, नुवाकोट, ललिपुर, भक्तपुर र काठमाडौंमा रहेको उल्लेख छ ।