बैतडी । कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ ।

वि.स. २०१९ मा सतबाँझको ५ सय ७५ रोपनी क्षेत्रफलमा स्याउ उत्पादन तथा प्रवद्धनका लागि स्थापना भएको ‘सुक्खा फलफूल केन्द्र’मा पछिल्लो समय स्याउका जातहरू लोप हुँदै गएका छन् । स्याउका जात लोप भएपछि अहिले नयाँ जातका स्याउ र हिउँदको समयमा फल्ने सुक्खा फलफूल लगाइएको केन्द्रले जनाएको छ । अहिले यो फार्म सुक्खा फलफूलको बेर्ना उत्पादन, परीक्षण केन्द्रका रूपमा विकास भइएको छ ।

केन्द्रका अनुसार केही वर्ष अघिसम्म मङ्सिरदेखि फागुनसम्म हिउँले डम्म ढाकिने सतबाँझको यो डाँडाको फार्ममा छ हजारभन्दा बढी स्याउका बोटबाट वार्षिक ४० टन स्याउ उत्पादन हुने गथ्र्यो । स्याउ फल्न छोडेपछि फलफूल केन्द्रले पछिल्लो समय ओखर र नास्पातीका बोट लगाए पनि स्याउकै कारण प्रसिद्धि कमाएको सतबाँझको इतिहास लोप हुने स्थिति रहेको छ ।

उजाड बन्न थालेको फलफूल केन्द्र जोगाउन अहिले ५५ हजार बोट ओखर, एक हजार जैतुन, कागजी बदाम लगाउन सुरु गरिएको छ । बागवानी विज्ञहरूका अनुसार स्याउ फल्न वर्षभरिमा एक हजार छ सय घण्टासम्म सात डिग्री सेल्सियसमुनि तापक्रम चाहिन्छ । अहिले यो ठाउँमा पाँच सय घण्टा पनि मुस्किलले सात डिग्री सेल्सियस तापक्रम पुग्छ ।

प्राविधिकहरूका अनुसार जलवायु परिवर्तनका कारण पुराना प्रजातिका स्याउका बोट हराएका हुन् । पुराना प्रजातिको स्याउ उत्पादन हुन छोडेपछि सतबाँझको इतिहास मेटिन नदिन अहिले फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय नयाँ स्याउका बोट रोपिएको फलफूल केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।

प्राविधिक खड्काका अनुसार अहिले रोपिएका स्याउका बिरुवा तीन वर्षमा फल्ने र एउटा बोटबाट १२ देखि १५ किलोसम्मका स्याउ उत्पादन हुनेछ । पहिलोपटक फर्ममा नास्पाती, ओखर, कागजी बदाम, खुर्पानीबाहेक किबीको पनि उत्पादन सुरु गरिएको छ ।

सतबाँझमा स्याउ खेतीको सुरुआत
विसं २०१९ देखि सतबाँझमा स्याउ खेतीको सुरुआत गरिएको हो । तत्कालीन राजा महेन्द्रले विसं २०१४ मा सुदूरपश्चिमको पैदल भ्रमण गर्दा खेर गइरहेको विशाल फाँट देखेर उनले नै स्याउको उत्पादन गर्न चासो देखाएको र स्याउ उत्पादन सुरु गरिएको सतबाँझको इतिहास छ ।

हाल यहाँको लगभग २० हेक्टर जमिनमा मात्र सुक्खा फलफूलको उत्पादन र बिक्रीवितरण हुने गरेको छ । यस केन्द्रले नेपाल सरकारलाई वार्षिक १० लाख रुपियाँसम्म राजस्व उपलब्ध गराइरहेको छ । पाँच लाखको हाराहारीमा हिउँदे फलफूलको कलमी तथा बिरुवा उत्पादन गरी देशका विभिन्न जिल्लामा बिक्रीवितरण गरेको छ । केन्द्रबाट एक हजार पाँच सय जना अगुवा कृषक तलिमप्राप्त छन् ।

केन्द्रले उच्च गुणस्तरका शितोष्ण प्रदेशीय फलफूलका बिरुवा उत्पादन गरी कृषक वर्गलाई उपलब्ध गराइरहेको छ । फलफूलको बगैँचा तथा नर्सरी स्थापना गर्ने काममा प्राविधिक सेवा पुरयाइरहेको छ । ताजा फलफूलको उत्पादन बढ्ने भएपछि कृषकको आयस्तर पनि बढ्ने र डाँडापाखामा हरियाली भए पहाडी क्षेत्रको पर्यावरणीय अवस्थामा पनि सुधार हुने प्राविधिक बताउँछन् ।