काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने सबै यात्रुको स्वास्थ्य परीक्षण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकले विमानस्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

निर्णय भएसँगै भट्टराईले आफू मातहतका निकायका प्रमुखलाई बोलाएर कोरोनाको रोकथामका लागि विमानस्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण लगायतका काम गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा हेमन्त चन्द्र ओझा, अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअर लाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने/गराउने जिम्मा पाएको छ ।

सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न देशले अवलम्बन गरेको उडानसम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्नु पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन पेश गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट मार्च महिनामा स्वदेश तथा विदेशमा गर्ने प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समीक्षा गरी पेश गर्न सचिवालयलाई बैठकले निर्देशन दिएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखेर आवश्यक आन्तरिक तयारी गर्ने तयारी गरेको छ ।

नेपाल वायुसेवा निगमबाट जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा हुन लागेको उडानको सुरुवातमा दुवै देशमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने बैठकले निर्णय गरेको छ ।