उर्लाबारी । हरियाली अभियान प्रालिले जैविक मलबाट अर्गानिक तरकारी उत्पादन गर्ने किसानलाई स्थानीय रैथाने जातको गाई निशुल्क वितरण गरेको छ ।

राजनीति छोडेर कृषि उद्यममा लागेका मोरङका खेमराज प्रधान लगायतको समूहले हरियाली अभियान सुरु गरेपछि सोही अभियान अन्तरगत किसानलाई निशुल्क गाई वितरण गरिएको हो । सुदुरपश्चिम प्रदेशको घोडाघोडी नगरपालिका र वर्दगोरिया गाउँपालिकाबाट ल्याइएका गाई निशुल्क वितरण गरिएको अभियानका अध्यक्ष प्रधानले बताए ।

स्थानीय जातका गाईको मूत्रबाट प्राकृतिक विषादी र गोवरबाट मल बनाउने प्रयोजनका लागि गाई वितरण गरिएको हो । हरियाली अभियानले मोरङको पथरीशनिश्चरे,उर्लाबारी,लेटाङ,सुन्दरहरैंचा नगरपालिका तथा मिक्लाजुङ गाउँपालिकामा तीनसय बिगाहा जग्गामा बिषादी रहित तरकारी उत्पादन गर्ने तयारी गरिरहेको छ ।

तरकारी उत्पादन गर्नका लागि गाउँ–गाउँमा पुगेर अभियानले किसानहरूको समूह गठन गरिरहेको छ । अभियानका अध्यक्ष प्रधानले भने, ‘५० जना किसानको एउटा समूह बनाउँछौं । समूहका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्ष बन्ने किसानले सामूहिक रुपमा अनिवार्य दुई विगाहा जग्गामा तरकारी खेती गर्नुपर्छ । अरु सदस्यले आफूसँग उपलब्ध दुई तीन कठ्ठामा लगाए हुन्छ । पूर्वाधार र वीउ, बीजनमा अभियानले किसानलाई सहयोग गर्छ । यस्तै उत्पादन भएको तरकारी बजारीकरणको जिम्मा पनि अभियानले नै लिन्छ ।’

अभियानसँग ४० जना बाली विज्ञानसँग सम्बन्धित प्राविधिक छन् । तरकारी लगाएका किसानको बाली प्राविधिकहरूबाट प्रत्यक्ष निगरानी हुने प्रधानको भनाई छ ।

पहिलो चरणमा आइतबार २४ वटा गाई उर्लाबारी र मिक्लाजुङका किसानलाई वितरण गरिएको अभियानका सदस्य नारायण चाम्लिङले बताए । गाईहरू मलमुत्रको लागि मात्र पालिने भए पनि तिनले दूध पनि दिने चाम्लिङको भनाई छ । किसानलाई वितरण गरिएका गाईहरू कुनै ब्याउने छन् भने कुनै बाली लाग्ने बेलाका छन् । पोषणका हिसावले जर्सी गाईको तीन लिटर दूधको काम स्थानीय जातको गाईको एक लिटर दूधले गर्ने जानकारहरू बताउँछन् ।

गाई वितरण गर्ने अभियान सकिए पछि किसानलाई सस्तो ब्याजमा कृषि कर्जा समेत उपलब्ध गराउने अध्यक्ष प्रधानले बताए । उनले भने, ‘तरकारीको परनिर्भरता अन्त्य र हरेक नेपालीको भान्सामा अर्गानिक उत्पादन पुरयाउँन अभियान सुरु गरिएको हो ।’