काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय विभाग पुनः विस्तार गरेका छन् । उनले सोमवार विभिन्न सात वटा विभागहरू विस्तार गरेका हुन् ।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरूलाई जिम्मेवारी तोकेर विभाग प्रमुखमा मनोनयन गरेको कांग्रेसले जनाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले केन्द्रीय सदस्य एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग र ईश्वरी न्यौपानेलाई महिला विभागको प्रमुखमा मनोनयन गरेका छन् ।

यस्तै, केशवकुमार बुढाथोकी राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेत खेलकुद विभाग, वीरबहादुर बलायर निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाल शिक्षा विभाग प्रमुखमा मनोनयन भएका छन् ।

यसअघि सभापति देउवाले गत शनिवार विभिन्न १३ विभाग विस्तारसँगै पाँच जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । महाधिवेशनको तयारी सुरु भइसकेपछि विभागहरू गठन भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने असन्तुष्टि जनाउँदै आएको छ ।