काठमाडौं । गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । मंगलवार विहान ७ बजेर ५७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । जात्रापर्व समितिका संयोजक मिथाराम पुडाशैनीले परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ, उनले भने ।

तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरुले ठड्याए । चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरु समेत जम्मा भएको थियो ।

वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ पनि उनले बताए । पुडाशैनीले यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने पनि जानकारी दिए ।

उहाँले मोहनकाली चोकमा काठबाट निर्मित हातमा मुरली लिएको मुद्रामा श्रीकृष्णको मूर्ति र त्यसको दायाँबायाँ गरी नौ वटी अर्धनग्न अवस्थामा रहेकी गोपीनीहरुका मूर्ति लहरै राखी पूजा गरी अबीर छर्किइएको बताए । बसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यो पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रुपमा लिइन्छ ।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबीर लगाएर होली खेल्ने गरिन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुंडिखेलमा र्पुयाई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै बसन्त ऋतु प्रारम्भ हुने पनि उनले बताए । आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

यसैगरी भक्तपुरमा दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिएको छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्ग लाई टोलटोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ ।

होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ्र सस्कृतविद् तथा भक्तपुरका स्थानीय गणेशराम लाछीले जानकारी दिए । उनले होली पर्व सुरू भएपछि फागुन नवमीको दिनमा भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरी रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिने जानकारी दिए । यसैगरी कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिनुभएको छ ।