काठमाडौं । नेपाल थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–ट्वेन्टी प्रतियोगिताबाट बाहिरिएको छ ।

बैंककमा बुधवार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल एक खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको हो ।

इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपाल एसिया कप छनोट पुग्न असफल भएको छ । र, एसिया कप खेल्ने नेपालको सपना समेत सकिएको छ ।

अब नेपालले बाँकी रहेको सिंगापुरविरुद्धको खेलमा जित निकाले पनि शीर्ष दुईमा स्थान बनाउन सक्ने छैन ।

अंक तालिकामा सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

समान खेलमा मलेसिया र हङकङको समान ४र४ अंक रहेको छ । नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ । नेपालले सिंगापुरसँग खेल्न बाँकी रहेको छ ।

शीर्ष स्थानमा रहेको सिंगापुर एक खेल अगाबै एसिया कप छनोटमा पुग्न सफल भएको छ ।

एसिया कप छनोटमा पुग्ने अर्को राष्ट्रको टुंगो भने शुक्रबार लाग्ने छ ।

मलेसिया र हङकङबीचको विजेताले एसिया कप छनोटमा स्थान बनाउने छन् । यस प्रतियोगिताको फाइनल पुग्ने टोलीले एसिया कप छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो ।

र, सुरुवाती दुई खेलमा लगातार हार व्यहोरेपछि नेपालको एसिया कप छनोट पुग्ने सपनामा धक्का लागेको थियो ।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो ।

तेस्रो खेलमा भने आयोजक थाइल्याण्डविरुद्ध ९ विकेटको कीर्तिमानी जित निकाल्दै नेपालले शीर्ष दुईमा रहने गणितीय सम्भावना कायम राखेको थियो ।

तर, हङकङलाई सिंगापुरले पराजित गरेसँगै नेपाल बाहिरिएको हो । अब नेपालले आफ्नो अन्तिम खेल शुक्रवार सिंगापुरसँग खेल्नेछ ।