काठमाडौं । नेपाल औषधि उत्पादन संघले विश्वका जुनसुकै मुलुकबाट कच्चा प्रदार्थ आयात गरेर भए पनि औषधिको अभाव हुन नदिने उद्घोष गरेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हालसम्म ३ महिना सम्म पुग्ने औषधि र कच्चा प्रदार्थ मौज्दात रहेको जानकारी दिदै औषधिको बारेमा अनावश्यक चिन्ता नगर्न आग्रह गरेको हो ।

संघका महासचिव बिप्लव अधिकारीले भारत र चीनबाट व्यापारिक दृष्टिकोणले सरल भएकोले कच्चा प्रदार्थ त्यहाँबाट खरिद गर्ने गरेको भएता पनि विश्वका अन्य मुलुकबाट पनि कच्चा प्रदार्थ ल्याउन सकिने बताए ।

अधिकारीले नेपालमा उत्पादन हुने ७५ प्रतिशत औषधिमा आफूहरुले अभाव हुन नदिने स्पष्ट पारे । सरकारले विदेशीलाई औषधिको बारेमा हारगुगार गर्नुको सट्टा नेपाली उद्योगीहरु सँग सहकार्य गरे दुई बर्षमा पूर्णरुपमा आत्मनिर्भर बन्न सक्ने क्षमता भएको महासचिव अधिकारीले दावी गरे ।

औषधिमा आत्मनिर्भर बन्न सरकार व्यवसायीहरु बीच सहकार्य जरुरी रहेको समेत उनले बताए । नेपालमा हाल एलोपेथिक औषधिका ६२ वटा उद्योगहरू सञ्चालन रहेकोमा ४२ वटा अन्य नयाँ उद्योग निर्माणधीन रहेको संघले जानकारी दिएको छ ।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक दाहालले अहिलेको अवस्थामा औषधिको मूल्य नबढाउने बताए । पछि अन्य मुलुकबाट कच्चा प्रदार्थको मूल्य ल्याउँदा मूल्य बढे स्वभाविक रुपमा मूल्य बढ्ने भए तापनि अहिले देशको कठिन अवस्थामा मूल्य नबढ्ने उनले बताए ।