विरगन्ज । पत्रकार वीरेन्द्र साहका हत्या आरोपी कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् । कुन्दनलाई आइतवार राति २ बजे बारागढी गाउँपालिका–६ गडहलस्थित उनकै गाउँबाट पक्राउ गरेको बारा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

प्रहरीले कुन्दनलाई पक्राउ गर्ने क्रममा उनका समर्थकले अवरोध गर्दा ४ राउन्ड हवाई फायर गरेको थियो । एभिन्यूज टेलिभिजनमा कार्यरत साहलाई २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी हत्या गरिएको थियो ।

शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)मा संलग्न कुन्दन नेतृत्वको टोलीले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको आरोप छ ।

सम्बन्धित
तत्कालिन नेकपा माओवादीका कार्यकर्ता समेत रहेका फौजदारलाई बारा जिल्ला अदालतबाट दोषी ठहर भई लामो समयदेखी फरार भई जिल्लामै लुकीछिपी बस्दै आएका थिए ।

पत्रकार साहलाई तत्कालिन नेकपा माओवादीका बारा जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितका नेताले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरेर हत्या गरे । हत्या पछि पत्रकार साहको शव ३४ दिन पछि टाँगिया बस्तीको जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

पत्रकार साहको हत्या अभियोगमा रामएकबाल सहनी वीरगंजमा कारागार जीवन बिताई रहेका छन् भने तत्कालिन जनसरकार बारा प्रमुख लालबहादुर चौधरी, हरेराम पटेल फरार रहेका छन् ।

साह एभी न्यूज, हिमाल पार्थी, नेपाल खबर पत्रिका, दृष्टि साप्ताहिक, रेडियो नेपाल, मनोकामना एफएम, लगायत आधा दर्जनबढी मिडियामा काम गर्दै आएका थिए ।