काठमाडौं । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । यो पल्ट एक सय दशौं महिला दिवस मनाइँदै छ । यो वर्ष दिवसको नारा समानताको पुस्ता अन्त्य गरौं हिंसा, विभेद र असमानता’ रहेको छ। समय समयमा महिलाले विभिन्न क्षेत्रबाट नारी जागरणमा महत्वपूर्ण योगदान दिएको इतिहास छ । नारी

जागरणको थालनी १९७५ सालमा दिव्यादेवी कोइरालाको सक्रियतामा सिराहाको चन्द्रगञ्जमा महिला समिति’ नामक प्रथम महिलासम्बन्धी संस्था स्थापना भएको थियो। योगमाया देवीले कविताको माध्यमबाट सुरु गरेर नदीमा आफ्ना अनुयायी लिएर आत्मदाह गरेसम्मको इतिहास छ, नेपालमा ।

तर, पछिल्लो समय ‘नारीवाद’का नाउँमा अतिवादी स्त्रीलिङ्गीय सोंच सिर्जना भएको छ । अर्थको अनर्थ लगाएर लैंगिक भेद छुट्याउन थालिएको छ । पुरुष प्रधानतालाई तारो बनाएर रोटि सेकाउनेहरुको कमी छैन । पछिल्लो समय इन्टरनेट एवं सामाजिक सञ्जालको प्रयोगले विभेदको श्रृंखलालाई अझ बढाइदिएको छ । गलत उपयोगका कारण विभिन्न प्रकारका हिंसा हुन थालेका छन्, लैंगिक रुपमै । संस्कृतिविद एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जगमान गुरुङ यसरी अर्थ्याउँछन् आजको दिनलाई ।

‘नारी शब्द नर शब्दको स्त्रीलिङ्ग शब्द हो। यसैगरी स्त्री शब्द पुरुष शब्दको स्त्रीलिङ्ग शब्द हो तर महिला शब्द कुनै पुलिङ्ग शब्दको स्त्रीलिङ्ग शब्द होइन। महमा इला प्रत्यय लागेर महिला शब्द बनेको छ। महको अर्थ पुजा हो।अतः महिला शब्दको अर्थ पुजनीय हो।कुनै पुरुषले महिलालाइ आफ्नो पत्नीको रुपमा देख्नु भन्दा पहिले प्रत्येक पुरुषले महिलालाइ आफ्नो आमाको रुपमा पाएको छ।त्यसकारण महिला नारी जाति होइन।महिला स्त्री जाति होइन। महिला मात्री जाति हो। अतः नारी दिवस होइन, महिला दिवस भन्नू पर्दछ र त्यही सद्भावना, आदर्श र मर्यादाबाट महिला दिवस मनाउनु पर्दछ।। तथास्तु ।। शुभम्।।’

अन्तर्राष्ट्रिय महिला दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले अन्तर्राष्ट्रिय महिला दिवस, २०२० को अवसरमा उहाँले शुभकामना सन्देश जारी गर्दै महिला दिवसको उद्देश्य साकार पार्न सम्बद्ध सबैको अग्रसरता आवश्यक रहेको धारणा राखेकी छन् । ‘सन् २०३० सम्म हासिल गर्नेगरी निर्धारण गरिएका दिगो विकासका लक्ष्य लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच बढाउने जस्ता विषय महिलाको हक संरक्षण र संवद्र्धनमा केन्द्रित रहेका छन्, यी लक्ष्य हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ ।