काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र उक्त उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको बताएकी छन् ।

नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ ।

सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्‍याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ, सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात् गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।