डोल्पा । नक्कली कागजपत्र बनाएर त्रिपुरासुन्दरी नगरपालिकाको उपभोक्ता समितिले १० लाख रकम भुक्तानी लिएको भेटिएको छ । अनुगमन प्रतिवेदन नै नक्कली बनाएर समितिले रकम भुक्तानी लिएको हो ।

आर्थिक वर्ष ०७५/०७६ को पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पदमार्ग निर्माणका लागि नेपाल पर्यटन बोर्डले १० लाख रूपैयाँ उपलब्ध गराएको थियो । त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगरहुँदै फोक्सुण्डो प्रवेशद्धार सुलिगाड जाने पदमार्ग निर्माणकाको जिम्मा खिमबहादुर बुढा अध्यक्षतामा उपभोक्ता समितिलाई दिइएको थियो ।

समितिको मिलोमतोमा सव ओभरसियर जंगबहादुर थापाले तयार गरेको प्रतिवेदनको आधारमा नगरपालिकाले रकम भुक्तानी दिएको हो ।

तत्कालिन निमित्त नगर कार्यकारी प्रमुख हिराचन्द्र धरलाले कामै नभएको योजनामा रकम भुक्तानी दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । योजना अनुगमन संयोजक समेत रहेकी नगर उपप्रमुख चन्द्रकुमारी बुढाको किर्ते दस्तखत गरेर रकम भुक्तानी दिइएको हो ।

‘म नभएको अवस्थामा निमित्त कार्यकारी हिराचन्द्र धरलासँगको मिलेमतोमा रकम दिइएछ’ उपप्रमुख बुढाले भनिन्, ‘फागुन २० गते नगर प्रमुखलाई निवेदन लेखेर कारवाही गर्न माग गरेपछि मात्रै कामै नगरी रकम दिएको खुलेको हो ।’

भुक्तानीका लागि दिइएको सिफारिसमा ०७६ बैशाख २८ मा सुरू भएको काम ०७६ असार १९ मा सम्पन्न भएको उल्लेख छ । धरलाले पदमार्ग तथा नगरका नीतिगत निर्णयमा मेयर/उपमेयरलाई थाहा नदिइ स्वनिर्णय गरेको पाइएको छ ।

मनोमानी ढङ्गबाट उनले रकम भुक्तानी दिन थालेपछि फागुन २३ को कार्यपालिका बिशेष बैठकले धरला र उपभोक्ता समिति पदाधीकारीमाथि छानविन गरी कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको छ । नगरप्रमुख रहेका ओमबहादुर बुढाले नक्कली कागजातका आधारमा रकम भुक्तानी लिने र दिनेमाथि कारबाही हुने बताए ।