काठमाडौँ । ठेकदार मनोज भेटवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, टेकुमा आफै उपस्थित भएपछि उनलाई पक्राउ गरिएको हो ।

जलेश्वर स्वच्छन्द विकोई विल्डर्ससका सञ्चालक रहेका भेटवालले दिएको कम्पनीको ७५ लाख १० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनी बिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो । चन्द्र तामाङले उनी बिरुद्ध किटानी जोहरी दिएका थिए ।

उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । परिसरले २८ माघमा उनी बिरुद्ध पक्राउ पूर्जी लिएर खोजी सुरु गरेको थियो ।

परिसरका डीएसपी होविन्द्र बोगटीले भेटवालको खोजी सुरु भएपछि उनी भागेर भारतमा लुक्दै आएको बताए । उनलाई हिरासतमा लिएर थप अनुसन्धान हुने बोगटीले बताए ।

भेटवालको कर्तुत
भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले यसअघि पक्राउ गरेको थियो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा उनी पक्राउ परेका थिए ।

काठमाडौं भ्युटावर निर्माणको जिम्मा पनि उनैले हात पारेका थिए ।

पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै भेटवालको कम्पनीले खुलामञ्च कब्जा गरेको भन्दै सम्पदा अभियन्ताले वैशाखमा विरोध प्रदर्शन गरेका थिए । २२ फागुन ०७१ बाट काम थालेको विल्डर्सले अहिलेसम्म एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।