काठमाडौं । सरकारले मंगलबारदेखि नेपाल आउने यात्रुले अनिवार्य रुपमा कोराना (कोभिड-१९) भाइरसको संक्रमण नभएको प्रमाण पत्र ल्याउनुपर्ने व्यवस्था गरेको छ ।

‘जुन देशमा यो विषाणुको प्रकोप देखिएको छ, त्यो देशबाट आउने विदेशी अथवा स्वदेशी यात्रुले कोभिड-१९ छैन भन्ने प्रमाणपत्र अनिवार्य लिएर आउनुपर्नेछ,’ स्वास्थ्य सेवा विभाग अन्तर्गतको सरुवा तथा रोग नियन्त्रण महाशाखाका प्रमख डा. वासुदेव पाण्डेले बताए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय कार्यदलको बैठकले गत साता यो निर्णय गरेको हो । उनले नेपालको परराष्ट्र मन्त्रालयले ती देशको परराष्ट्र मन्त्रालयलाई यसबारे पत्राचार पनि गरिसकेको बताए । नेपाल आउने यात्रुले सबैले सेल्फ डिक्लेरेसन फर्म भर्नुपर्ने व्यवस्था पनि गरिएको डा. पाण्डेले बताए ।

कतारले आइतबारदेखि नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक लगाएको छ । कोरोनाको संक्रमण रोक्न कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड र नेपालबाट कतार जाने यात्रुमाथि रोक लगाएको हो । कतारमा १५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

नेपालले भने यस प्रकारको बन्देज तत्काल लगाउन लागेको हो भन्ने प्रश्नमा डा पाण्डेले विश्व स्वास्थ संगठनले यस्तो सुझाव दिइनसकेको र हाल नेपाल आउने यात्रुहरुको संख्या आधा घटेकाले पनि तत्काललाई त्यस्तो निर्णय नगरिएको बताए ।

चीनको वुहान सहरबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरसको प्रकोपले सोमबारसम्म विश्वका एक सयभन्दा बढी देशमा फैलिएको छ । यो रोगले एक लाख आठ हजारलाई संक्रमण भएको छ भने तीन हजार आठ सय २१ को मृत्यु भैसकेको छ ।