पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टारलाई ३–० गोल अन्तरले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा निर कुमार राईले दुई गोल गरे । यस्तै भरत शाहले एक गोल थपे । साविक विजेताविरुद्ध खेलको दशौँ मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्यो । दुवै गोल निर कुमारको नाममा रह्यो ।

खेलको ५१औं मिनेटमा निरले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ७२औं मिनेटमा निरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ३–० को सहज जित दिलाए ।

पुलिसका निर म्यान अफ दि म्याच चुनिए । अब पुलिसले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।