सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका सबै नागरिकको दुई लाखको दुर्घटना बिमा गरेको छ ।

शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै आन्तरिक मामिला तथा कानुुनमन्त्री नरेश भण्डारीले कर्णालीका १७ लाख ७० हजार नागरिकको दुई लाख बराबरको बिमा गरिएको बताएका हुन् । मन्त्री भण्डारीले प्रदेशका सबै नागरिकको सामूहिक बिमा गरिनु उदाहरणीय काम भएको दाबी गरे ।

त्यसैगरी, प्रदेश सरकारले प्रदेशका १० हजार घरकोसमेत बिमा गरेको छ । सम्झौताअनुसार बिमा गरिएको घर भत्किएमा पाँच लाख रुपैयाँ दिइने छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग कर्णालीका नागरिकको सामूहिक दुर्घटना बिमासम्बन्धी सम्झौता गरेको हो ।

सम्झौताअनुसार कर्णाली प्रदेशका १७ लाख ७० हजार नागरिकको कुनैपनि प्रकोप या प्राकृतिक विपद्बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा दुई लाख रुपैयाँ दिइने बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए ।