काठमाडौं । सरकारले नीति फेर्दै सरकारी अस्पतालमा मात्रै आइसोलेसन बेडहरु राख्ने निर्णय गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका निजी अस्पतालहरुले समेत आइसोलेसन बेड छुट्याउनुपर्ने निर्णय गरेको थियो ।

अब सरकारले काठमाडौंका चारवटा सरकारी अस्पतालहरुमा मात्र आइसोलेसन बेडहरु राख्ने निर्णय भएको छ । काठमाडौंमा टेकु अस्पताल, पाटन अस्पताल, कीर्तिपुर आयुर्वेदिक अस्पताल र वीर अस्पतालमा मात्र आइसोलेसन बेड राख्ने निर्णय गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘काठमाडौंमा सुरुमा हामीले सबै अस्पतालमा १५५ वटा बेडहरु भनेका थियौं, अब हामीले त्यो रणनीति परिवर्तन गरेका छौं’, उनले भने, ‘अब हामी चारवटा अस्पतालहरुलाई तोक्छौं । एक नम्बरमा टेकु, दुईमा  पाटन, तीन नम्बरमा कीर्तिपुर आयुर्वेदिक अस्पताल र चार नम्बरमा  वीर अस्पतालको नयाँ भवनलाई तोक्दैछौं ।’

ह्याम्स, ग्राण्डी लगायतका अस्पतालहरुमा आइसोलेसन बेडहरु नराख्ने निर्णय सरकारले गरिसकेको महानिर्देशक श्रेष्ठ बताए । ‘एउटा बिरामी ह्याम्समा, एउटा बिरामी ग्राण्डीमा र एउटा बिरामी टिचिङ अस्पतालमा छ भन्नासाथ मान्छेलाई त्रास हुँदोरहेछ । अर्को कुरा, त्यहाँ सार्ने पनि सम्भावना हुन्छ ।

त्यहाँ राम्रो केयरिङ नहुने भो’ महानिर्देशक श्रेष्ठ भन्छन्, ‘संसारभरि यही छ भनेर हाम्रा डब्ल्युएचओका सल्लाहकारहरुले पनि भनेको हुँदा हामीले चार स्थानमा तोक्दैछौं र यसबारे नेपाल सरकारले निर्णय गरिसकेको छ ।’