सर्लाही । चुरे दोहनका कारण चुरे क्षेत्रका गाउँबस्तीमा पानीको हाहाकार हुन थालेको छ । सुख्खा मौसम लागेसँगै सर्लाहीका चुरे क्षेत्रका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् ।

चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली र ढुङ्ग्रेखोलालगायतका बस्तीमा माघ, फागुन महिनादेखिनै पिउने पानीको अभाव हुन थाल्छ ।

चुरेफेदीका गाउँमा चापाकल सुक्न थालेका छन् । बढ्दो वन विनाश, नदी तथा वनजङ्गल दोहनले खानेपानीका मुहान चाँडो सुक्न थालेको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण बैद्यले बताए ।

गाउँका ४५/५० घरधुरीका मानिस पिउने पानीको जोहो गर्न छिमेकी गाउँसम्म पुग्न बाध्य छन् । ती घरधुरीको एक मात्र कुवा रहेको र उक्त कुवामा आवश्यक पानी नभएको तथा वैकल्पिक स्रोतको व्यवस्था नभएकाले पिउने पानीको समस्या थप जटिल बनेको छ ।

‘सानो कुवा छ । रातभर सङ्कलन गरेको पानीले गाउँका ५/६ घरधुरीलाई मात्र पुग्छ । पछि पुग्नेले छिमेकीगाउँका कुवा, धारा तथा खोलाको पानी प्रयोग गर्न करिब एक डेढ घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ’, लालबन्दी नगरपालिका– १४ नारायण खोलाका स्थानीयवासी रेशम तामाङ भन्छन् ।

पशु चौपाय र मानिसले एउटै कुवाको पानी खानुपर्ने बाध्यता छ । त्यसले गर्दा गाउँमा हरेक वर्ष झाडापखालालगायतका पानीजन्य रोग लाग्ने गरेको छ ।

आफूहरुलाई सुख्खायाम शुरु भएपछि पिउने पानीको जोहो गर्न चिन्ता लाग्ने गरेको ईश्वरपुर नगरपालिका १६ परवानीपुरका राजेन्द्रप्रसाद ढुङ्गेलले बताए ।

मुहान नै सुक्न थालेपछि चुरेको तल्लो गाउँका धाराका साथै चापाकल सुक्न थालेको हरिवन नगरपालिका–४ का प्रेमनाथ पौडेलले बताए । धारामा पानी भर्न लाम बस्दा स्थानीयवासीबीचमा झगडा हुने गरेको पौडेलको भनाइ थियो ।

चुरे क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न फेदीका स्थानीय निकायले पहल गरिरहेका छन् । लिफ्टिङ प्रणालीबाट भए पनि चाडैँ उक्त क्षेत्रमा पिउने पानी व्यवस्थापन गर्ने गरी काम भइरहेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसाईँले बताए ।

समस्या समाधान गर्न प्राविधिक अध्ययन शुरु गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज देवकोटाले बताए । नगरपालिकाको विकट क्षेत्रमा प्राविधिकसहितको टोली गएर अध्ययन गरिसकेको र नजिकैको खोलाबाट पानी लिफ्टिङ प्रणालीबाट भए पनि उक्त क्षेत्रमा पुर्याउने प्रयास भइरहेको नगरप्रमुख देवकोटाको भनाइ छ ।

इटाभट्टाको सङ्ख्यामा वृद्धि, वन विनाश तथा नदी दोहनले पछिल्लो समयमा पानीका मुहान चाँडो सुक्न थालेको अनुमान गरिएको छ ।