सिरहा । बिषाक्त मदिरा सेवनबाट धनुषामा दर्जन बढी मानिसको मृत्यु र दर्जनौँ बिरामी भएपछि अबैध मदिरा भट्टि नष्ट गर्ने अभियान थालेको छ ।

क्षिरेश्नरनाथ नगरपालिका सपहीमा आठ र जनकपुरधाम उप-महानगरपालिका ७ जानकीनगरमा चारजनाको मृत्यु भएपछि प्रहरीले अबैध मदिरा भट्टी खोज्दै हिँडेको हो ।

अभियानअन्तर्गत शनिबार र आइतबार गरी दुई दिनमा प्रहरीले ३ हजार ४०२ लिटर तयारी मदिरा र ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरेको हो ।

त्यसैगरी १३१ थान भाडावर्तन, १५ वटा मदिरा बनाउने मेसिन र १४ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

एसपी चतुर्वेदीका अनुसार घरेलु मदिरा नष्ट गर्न जिल्लाभरिका प्रहरी युनिटलाई गाउँगाउँमा खटाइएको छ । भट्टी भत्काउने, मदिरा नष्ट र संग्लन व्यक्तिलाई नियन्त्रणमा लिने कार्य भइरहेको छ ।

पक्राउ परेकालाई आन्तरिक राजश्व कार्यालय लहानमा बुझाइएको उनले बताए ।