काठमाडौँ । मलेसिया सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशी नागरिकलाई रोक लगाएपछि नेपाल वायुसेवा निगमले मंगलबारदेखि क्‍वालालम्पुरमा गर्दै आएको नियमित उडान बन्द गरेको छ ।

निगमले अर्को निर्णय नआएसम्मलाई उडान रोकेको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार चैत ४ देखिका उडानका लागि बिक्री भएका टिकट फिर्ता गर्नुपरेमा सबै रकम भुक्तानी गर्ने जनाएको छ । जेठ १७ गतेसम्म यात्रुहरुले उडानको मिति परिवर्तन पाउने र त्यस्को शुल्क नलाग्ने जनाएको छ ।

निगमले क्‍लालालम्पुरमा सातामा ७ वटा उडान गर्दै आएको थियो । उडान नै रद्द गर्नुपरेको यो दोहापछि दोस्रो गन्त‍व्य हो । प्रवक्ता अर्चना खड्काकाअनुसार, यात्रु अभाव हुँदै गएपछि निगमले दिल्ली, बैङ्लोर, मुम्बई, बैंकक र हङकङका हुँदै आएका नियमित उडानमा केही संख्या कटौती गर्दै उडान गरिरहेको छ । यी स्थानबाहेक निगमले जापानको नारिता र दुबईमा उडान जारी नै राखेको छ ।