काठमाडौँ । प्रधानमन्त्री एव् नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा राजनितिक भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओली र दाहालबीच मंगलबार भएको भेटवार्तापछि बुधबार सचिवालय बैठक बोलाइएको छ । बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएको बालुवाटार स्रोतले बतायो ।

फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका ओली फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए । ओली डिस्चार्ज भएको भोलिपल्ट अध्यक्ष दाहाल स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगेका थिए । त्यसैदिन नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेललगायतले पनि ओलीलाई भेटेका थिए ।

यसअघि फागुन १४ को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनीत हुने कोटामा राष्ट्रिय सभा पठाउन सरकारलाई सुझाव दिने निर्णय गरेको थियो । तर, निर्णय गरेको केही घण्टा बित्न नपाउँदै प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने बताएपछि नेकपामा विवाद छ ।

त्यसपछि फागुन १८ मा ओलीले मिर्गौला प्रत्यारोपणको जानकारी दिन सचिवालय बैठक बोलाएका थिए । त्यसदिन बैठकले अरु कुनै निर्णय गरेन । बुधबार बस्ने सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम, एमसीसी कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयबारे छलफल हुन सक्ने सचिवालयका एक नेताले बताए । यसर्थ भोलिको सचिवालय बैठकलाई चासोका साथ हेरिएको छ ।