काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको सकर्तला आम नेपालीको साझा अभियान भएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले प्रेस काउन्सिलसँग जोडिएर गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र मन्त्रालयका अधिकारी तथा सरोकारवालाले यो साझा अभियान भएको बताए ।

सरोकारवालाले यो आग्रह पूर्वाग्रहमा अल्झिने समय नभएकोमा जोड दिँदै यतिबेला हरेक नागरिक कोरोना संक्रमणबाट आफु, परिवार र समुदाय हुँदै राष्ट्रलाई जोगाउन तल्लीन हुनुपर्ने आवश्यकता औँल्याए ।

स्वास्थ्यमन्त्री ढकालले सरकारले गरेको काम परिपक्व भएको र यो काम केन्द्र, प्रदेश हुँदै स्थानीय तहसम्म चुस्त पारिएको जानकारी दिए । उनले भने, ‘कतिपयले सरकारसँग परीक्षण गर्ने उपकरण नै नभएर अथवा सरकारले जाँच्दै नजाँचेर पो कोरोनाका विरामी फेला नपरेका हुन् कि भन्ठानिरहेका छन् । तर, पहिलो परीक्षण जो चीनबाट आएका धुनुषाका युवा थिए उनलाई कोरोना पोजेटिभ देखियो । उपचार पछि दोस्रो पल्ट नमुना परीक्षण गर्दा रिजल्ट नेगेटिभ आयो । यदि ल्याव अथवा मेसिनले काम गरेको थिएन भने पहिलो परीक्षण कसरी सफल भयो ?’

उनले कोरोना संक्रमण रोकथामको तयारी र सरकारको बामबारे भएका टिकाटिप्पणीलाई लिँदै समालोचनात्मक चेतसम्म सही भए पनि नकारात्मक चेत राख्नु राम्रो होइन भने । उनी भन्छन्, ‘यो अवस्थामा एकातिर कोरोना संक्रमणको जोखिमलाई टार्नु छ भने अर्कोतिर नकारात्मक चेतलाई चिर्नुपर्ने चुनौती छ, हामीसँग ।’

यही प्रसंगमा विभागीय मन्त्री ढकालले प्रतिकात्मक कुरा गरेः -यदि मलाई दुत्कारेर नेपालमा कोरोना आउँदैन भने म गाली त के कुटाई खान तयार छुँ । अहिलेसम्म राष्ट्रिय प्रयोगशालाले देशका विभिन्न ठाउँबाट ५३० जनाको नमुना परीक्षण गरिसकेको छ, उनले भने, ‘त्यसमा सुरुमा धनुषाका एक युवालाई देखिएको संक्रमण बाहेक सबै रिजल्ट नेगेटिभ छ । यतिसम्म कि कोरोना प्रभावित मुलुकमध्ये नेपाल मात्रै ग्रिन जोनमा छ । यसको अर्थ मैले अब केही हुँदैन, कोरोना आउँदैन भन्ने खोजेको होइन । छिमेकी भारतमा कोरानाका विरामी बढ्दै गएका कारण हामी पनि त्यत्तिकै जोखिममा छौँ । किन भने भारतमा मकै वा धानमा रोग लाग्दा त नेपालमा प्रभाव पर्छ भने यो त महामारीजन्य भाइरस हो ।’

मन्त्री ढकालका अनुसार ४३ वटा विन्दुमा चेकजाँचको व्यवस्था छ, नाकामा । यस्तै, छिमेकी राष्ट्रसँग जोडिएका १२८ वटा स्थानीय पालिकामा उत्तिकै सतर्कता अपनाइएको उनले बताए । संक्रमण भइहालेको अवस्थामा पनि निजी अस्पताल र सरकारी अस्पताल प्रयोग गर्ने गरी तयारी भइसकेको र सरकारले मान्छेलाई भीडभाडबाट टाढा राख्न भन्दै राष्ट्रिय महत्वको विभिन्न निर्णय गरेको मन्त्री ढकालको भनाई छ । यस्तै, मन्त्री ढकालले संक्रममितको उपचारको जिम्मा सरकारले लिने समेत जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबारेको बुझाई साझा हुनुपर्ने बताउँदै यो रोग निवारणको प्रोटोकल नै नयाँ रहेको बताए । उनले भने, ‘यो भाइरस लागेको मान्छे कुनै दूरदराजमा देखियो भने उसलाई दौडाएर काठमाडौं ल्याउने भन्दा त्यो एरियालाई सिल गरेर उपचार गर्ने हो ।’ खास गरेर कोरोना रोकथामको उपाय भनेकै, हात धुने–घर बस्ने नै हो ।’ भनाईको अर्थ धेरै मानिस भएको ठाउँमा नजाने हो । घरमा बस्दा पनि सरसफाइमा विशेष ध्यान दिनु पर्ने उनको भनाई छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालाले अहिलेसम्म ५२९ जनाको परीक्षण गर्दा कोरोनाको संक्रमण भेटिएको छैन ।