काठमाडौं । सरकारले शुक्रवारदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । सरकारले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु सहजै उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउन लागेको हो ।

सुपथ मूल्यका पसल उपत्यकामा सतुंगल, कालिमाटी, कोटेश्वर र भक्तपुरमा सञ्चालनमा आउने छन् भने । बनेपामा समेत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रवारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने बताएका थिए ।

उनले ललितपुर महानगरसँगको समन्वयमा जावलाखेलमा शनिवारसम्म सुपथ मूल्य पसल सञ्चालनमा आइसक्ने बताए । मन्त्री भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने जानकारी दिए । सहुलीयत पसलमा नुन, चामल, चिनी, गेडागुडी पाइने छ ।

मन्त्री भट्टले करिब ६ महिनालाई पुग्ने खाद्यान्न, ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनासम्म पुग्ने चिनी मौज्दात रहेको पनि बताएका छन् ।

उनले ग्यास आयातमा समस्या नभए पनि केही व्यवसायीको कमजोरीले समस्या देखिएको भन्दै अब छिट्टै हल हुने जानकारी दिए । आवश्यकभन्दा बढी सामान मौज्दात गरेको सूचना पाएको भए पनि उपभोक्ताका घरमा छापा मार्न नमिल्ने उनले बताएका छन् ।