काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शुक्रवार दशौं स्मृती दिवस मनाइँदै छ । कोइरालाको १० वर्ष अघि ०६६ साल चैत ७ गते निधन भएको थियो । मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत भए ।

कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको विस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाइमा ०६२–०६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरीजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनितिक जीवनमा कोइरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका विषयमा लिने अडान र निर्णयबारे विरोध समेत हुने गरेको थियो ।

उनी ०४८ साल जेठ १२ देखि ०५१ मंसिर १४, ०५५ वैशाख २ देखि ०५६ जेठ १७, ०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक प्रधानमन्त्री भए ।

कोइराला नेपाली काङ्ग्रेसका सभापति र सात राजनीतिक दलको मोर्चाका नेता थिए । ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको जन्म १९८१ साल असार १८ गते भारत विहारमा भएको हो । नेपाली राजनितीमा कोइरालाले अतुलनीय योगदान गरेका छन् । उनकै अगुवाईमा भएको १९ दिने जनआन्दोलनपछि शाही सत्ता ढलेर गणतन्त्र आएको थियो ।