काठमाडौं । मार्च २२ अर्थात् आइतवार विश्व पानी दिवस । विश्वभर पानीका स्रोत क्रमशः घट्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९३ को मार्च २२ तारिख अर्थात् यही दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।

यो पल्ट विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण जोखिमले सामूहिक भेला हुने कार्यक्रम गर्न नसकिए पनि पानीको महत्वलाई लिएर थुप्रै चिन्ता गरिएका छन् ।

कोरोना भाइरसको यस विश्व महामारीबीच सरसफाइको पहिलो हिस्सा पानीले नै लिएको छ । कोरोनाको संक्रमणबाट बच्न यो बेला कुनै पनि काम गर्दा वा वस्तु छोइसकेपछि र खाना खानुअघिपछि मिची–मिची हात धुन भनिएको छ । यो बेला एक थोपा मापीको पनि निकै महत्व छ ।

पछिल्लो समय बढ्दो शहरीकरण, जलवायु परिवर्तनको असर, मान्छेका आनीबानीका कारण पानीको श्रोत संरक्षणमा भने चुनौती थपिँदै गएको छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका विश्व पानी दिवस मनाउने गरिन्छ ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन हरेक अंग्रेजी वर्षको मार्च २२ मा पानी दिवस मनाउने गरिएको हो ।

सम्बन्धित
मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा झण्डै सवा दुई अर्ब मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । पानीको स्रोत घट्दै गएकाले यो संख्या अझ बढ्नसक्ने बताइन्छ ।