काठमाडौं । सरकारले भारतीय सीमाबाट भित्रिएका सबै नेपाली नागरिकलाई अनिवार्य सेल्फ क्वारेन्टाइनमा राख्‍ने गरी व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहले त्यस्ता नागरिकको निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई समेत आइतवार निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीका अनुसार आइतवार देशभरका प्रमुख जिल्ला अधिकारी, नेपालप्रहरी र सशस्त्र प्रहरीलाई परिपत्र गर्दै कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि त्यस्तो निर्देशन दिइएको छ।

गृहको परिपत्रअनुसार सीमाबाट भित्रिएका नागरिकको संक्षिप्त व्यक्तिगत विवरण अभिलेख राख्‍ने, कुन जिल्ला र स्थानीय तह जान लागेको हो त्यसको समेत विवरण तयार पार्ने र त्यसलाई कार्यान्वयन गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई पठाउनेव्यवस्था गर्न निर्देशन दिइएको अधिकारीले बताए।

त्यही विवरणका आधारमा सीमाबाट भित्रिएका नेपाली सेल्फ क्वारेन्टाइन बसे–नबसेको नियमित अनुगमन गर्ने र स्थानीय पालिकाहरुलाई त्यही अनुसार अनुगमन गर्न पनि गृहले निर्देशन दिएको हो ।