काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । र, त्यसो गर्नेलाई कारबाही गर्ने समेत भनेको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतवार देशभर त्रास फैलियो ।

वीरगन्जका उद्योगी ६७ वर्षीय शिवकुमार रुंगटामा कोरोना संक्रमण देखिएको भन्दै आइतवार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी फैलियो ।

पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए भ्याए । र, सिंगो मुलुक त्रसित हुन पुग्यो ।

यस्तै, सीडीओ कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए ।

व्यवसायी रुंगटालाई कोरोना आशंकामा परीक्षण मात्र गरिएको थियो । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले परिवारलाई दिएको छ । उनको र्याल परीक्षणको रिपोर्टमा ‘नेगेटिभ’देखिएको छ । विहारको पटनास्थित पीएमसीएच अस्पतालले उनमा कोरोनाको संक्रमण नभएको बताएको हो ।

अस्पतालले रिपोर्ट थप परीक्षणका लागि भारतको महाराष्ट्रको पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाएको छ । वीरगन्ज–१० का रुंगटा करिब तीन हत्पाअघि भारतको कोलकाता, दिल्ली र देहरादून भ्रमण गरी फागुन २१ मा घर फर्किएका थिए ।

१४ दिनपछि गएको बुधवार साँझ ज्वरो आउने र सास फुल्ने समस्या भएपछि वीरगन्जको निजी अस्पताल लगियो । त्यो अस्पतालमा उपचार सम्भव नभएपछि त्यही साँझ पटना लगिएको हो ।