काठमाडौ । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले ‘महामारी’ घोषणा गरेको कोरोना भाइरस सम्बन्धि सचेतनामूलक कार्यक्रम गरी नेपालमा विश्व पानी दिवस मनाइएको छ । राष्ट्रसंघको आह्वानमा संसारभर मनाइने पानी दिवस मार्च २२ मा पर्दछ ।

तर, नेपालमा त्यसको भोलिपल्ट अर्थात् २३ मार्चमा विश्व पानी दिवस र मौसम दिवस सँगसँगै मनाउने गरिएको छ । यो पल्ट कोरोना संक्रमणका कारण भव्यकार्यक्रम गर्न नसकिएपनि पानी र मौसमबारे चिन्ता प्रकट गरिएको छ ।

नेपालको मौसम विभागले कोरोनाको संक्रमण जोखिमका कारण औपचारिक कुनै कार्यक्रम गर्न सकेन । तर, पानी र सरसफाइसँग सम्बन्धित संघ संस्थाले भने सचेतनामूलक कार्यक्रम गरी दिवस मनाएका छन् ।

सोसाइटी अफ पव्लिक हेल्थ इन्जिनियरस नेपाल (सोफेन) र गैर सरकारी संस्था गुथिले कोरोना भाइरसबाट सुरक्षित रहन ललितपुर महानगरपालिका–१२ को मंगलबजारमा सोमवार सचेतनामूलक कार्यक्रम गरेको छ ।

यो अवसरमा ललितपुर महानर –१२ का वडाध्यक्ष नारायण अवालेले मंगलबजारस्थित सार्वजनिक शौचालयका सञ्चालकलाई सरसफाइ सामग्री वितरण गरे । उनले शौचालय प्रयोगकर्तालाई शौचालय प्रयोगपछि हात धुने विधि समेत सिकाए ।

कार्यक्रममा शौचालय प्रगोगकर्तालाई हात धुने विधि सिकाइयो भने रुपियाँबाट पनि भाइरस संक्रमण हुन सक्ने सम्भावनाबारे सचेतना बाँड्न स्यानिटाइजरको प्रयोग गर्न सिकाइएको छ ।

वडाध्यक्ष अवालेले शौचालय रोग तथा किटाणुहरु फैलने सम्भावित स्थान भएकाले हात धुने विधि कोरोना भाइरसबाट सुरक्षित रहनका लागि उपयोगि हुने बताए ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले साबुन पानीले मिची–मिची हात धुने बानीले कोरोना भाइरस लगायत विभिन्न रोगका जीवाणुबाट बच्न सकिने बताए । स्थानीय सन्तु महर्जनले पहिले यस्तो हातधुने विधिबारे आफुलाई ज्ञान नभएको सुनाए ।

काठमाडौं उपत्यकाभित्रका १०० वटा सार्वजनिक शौचालय मार्फत जनचेतनामूलक साामग्री वितरण गर्ने योजना रहेको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

मौसम दिवस गतिविधि शून्य

जल तथा मौसम विज्ञान विभागले यो पल्ट मौसम दिवसमा औपचारिक कार्यक्रम गर्न पाएन । कोरोना संक्रमणको जोखिमका कारण सरकारले नै भेला, सभा, सम्मेलन नगर्न भनेको छ । विभाग अन्तर्गतकाे माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविज्ञ वरुण पाैडेलेलले काेराेनाका कारण  औपचारिक कुनै कार्यक्रम नभएकाे बताए ।

यद्यपि, विश्व मौसम संगठन (डब्ल्यूएमओ)ले जारी गरेको विज्ञप्ति विश्वभर सर्कुलर भएको छ । डब्ल्यूएमओका महासचिव पेट्टरी तालसले २२ मार्चमा विज्ञप्ति जारी गरे भने २१ मार्चमा उनले एउटा भिडियो सन्देश नै जारी गरेका थिए ।

यो पल्ट विश्व मौसम दिवसको नारा ‘जलवायु परिवर्तन र पानी’राखियो । महासचिव तालसले कोरोना भाइरसको महामारीसँग जुध्दै बढ्दो जलवायु परिवर्तनबारे समेत चिन्ता गर्नु पर्ने सन्देश दिएका छन् । डब्ल्यूएमओमा १८७ मुलुक सदस्य छन् भने ६ महादेशलाई क्रमशः क्षेत्रीय संगठनमा विभाजन गरिएको छ ।– तस्वीर वासखबर डटकमबाट