काठमाडौं । काठमाडौंमा एक जनामा कोरोनाको संक्रमण देखिएको खबर छ । संक्रमित युवती काठमाडौं उपत्यकाकी स्थायी बासिन्दा हुन्। टेकु अस्पतालका अनुसार युवतीको दोस्रो परीक्षण हुने भएको छ । संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ।

फ्रान्सबाट आएकी कोरोना भाइरसबाट संक्रमित १९ वर्षीया युवतीको दोस्रो पटक पनि परीक्षण गरिने भएको छ। कहिलेकाहीँ पहिलो परीक्षणमा पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ। तर, सोमवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती युवतीलाई कोरोना संक्रमण देखिएको पुष्टि गरे ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवती सेल्फ क्वारेन्टाइनमाु बसेकी थिइन्। सेल्फ क्वारेन्टाइनमा बसिरहँदा सामान्य सुख्खा खोकी बढेपछि उनले शुक्रबार टेकु अस्पतालमा सम्पर्क गरेकी थिइन। त्यसपछि उनलाई अस्पताल आउन चिकित्सकले सुझाव दिएका थिए।

शुक्रवार अस्पताल पुगेकी उनलाई आइसोलेसनमा भर्ना गरियो । हामीले उहाँको स्वाब त्यहीँ दिन प्रयोगशालामा परीक्षणका लागि पठायौं,ु अस्पतालका निर्देशक सागरराज भण्डारीले भने। आइतवार आएको नतिजामा युवतीमा कोरोनाको संक्रमण देखिएको हो।

निर्देशक भण्डारीले अहिले बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जानकारी दिए। उनले बिरामीलाई छुट्टै कोठामा राखिएको बताए। भण्डारीले अवस्था समान्य रहेको र १४ दिन निगरानी राख्ने बताए ।

दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिए बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। यसअघि, चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । सोमवारबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।