पोखरा । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भए नभएको पत्ता लगाउँने मेसिन पोखरामा आइपुगेको छ । मंगलबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत उक्त मेसिन लिएर जडान सुरु गरिएको छ । संघीय सरकारले चिनबाट खरिद गरेका पाँच वटा मेसिन मध्य एउटा मेसिन पोखरा पठाइएको थियो ।

सोमबारनै पोखरा आउने भनिएको उक्त मेसिन लकडाउँनका कारण ढुवानी समस्या भएपछि आज बिहानमात्र आएको थियो ।

पोर्टेबल आरटी पिआिर नामको उक्त मेसिनले तीन घण्टामै कोरोना भाइरस भए नभएको जाँन गर्न सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । मेसिनलाई पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा जडान गर्न थालिएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस कोभिड १९ को संक्रमित पाँच जना मध्य एक जना गण्डकी प्रदेशमा पनि भएकाले संक्रमितको सम्पर्कमा रहेका सबैको कोरोना भाइरस परीक्षण गर्ने तयारी गरिएको गण्डकी प्रदेशका जनस्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

काठमाडौंबाट बिहान पोखरा झरेको उक्त मेसिन जडानको काम प्राविधिकहरुले गरिरहेकाले सम्भवत आजबाटै परीक्षण सुरु गरिने पूर्व स्वास्थ्यमन्त्री एवं संघीय सांसद खगराज अधिकारीले जानकारी दिए ।

परीक्षण मेसिनसँगै नेपाल सरकारले बलराम गौतम, श्रीराम बास्तोला र रोजी पाण्डे सम्मिलित विज्ञहरुको टोली सहित कोरोना भाइरस परीक्षणका लागि आवश्यक किट पोखरा पठाइएसकेको छ ।