दाङ । तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । तुलसीपुर–१३ फूलबारी निवासी अनिता यादवले शुक्रवार जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् ।

भारतको बलरामपुर माइती गएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किएकी यादव गत बुधवार घर गएकी थिइन् । उनलाई बिहीवारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर आएकी हुन् । ‘एम्बुलेन्समा आउन पैसा थिएन, घर जान माइतीले दवाव दिएपछि हिँडेरै आएँ”, उनले भनिन्, ‘खानेकुरा साथमै बोकेर ल्याएकी थिएँ, बाटोमा खानेकुराको समस्या त भएन तर बास बस्न भने समस्या थियो ।’

नवजात शिशु र आमाको उपचारमा लाग्ने खर्च अस्पतालले निःशुल्क उपलब्ध गराएको छ । उपमहानगरपालिकाले खानाको यवस्थापन गरेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । डा. खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक १४ हजारभन्दा बढी लाग्ने छ । अहिले सुत्केरीको स्वास्थ्यावस्था सामान्य छ । यादवको शनिवार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यादवको यसअघि गरिएको आरडीटी टेष्ट रिपोर्ट भने नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।