काठमाडौं । यो आर्थिक वर्षमा सरकारले सुरुका दिनबाटै विकास निर्माणका काममा ध्यान नदिँदा पुँजीगत अर्थात् विकास खर्च असाध्यै प्रभावित हुन पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ को ८ महिनासम्म विकास निर्माणको कामले गति लिन सकेन भने, अहिले आएर कोरोना महामारीले त्यसलाई झन् प्रभावित बनाइदिएको हो ।

बेलैमा ठेक्कापट्टा लगाएर काम नथाल्ने प्रवृत्ति यो पल्ट पनि दोहोरिएको छ । फागुनपछि शुरु भएको कोरोना महामारीले विकास निर्माण र त्यसका माध्यमबाट हुने विकास खर्चमा झन् ब्रेक लागेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आर्थिक वर्षको १० महिनामा २७ दशमलव ९७ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।

सामान्य अवस्थाको कुरा गर्ने हो भने यो बेलासम्म ८० प्रतिशत खर्च भइसक्नुपर्ने हो । यो पल्ट पनि मुलुकको अर्थतन्त्र सधैँ झैँ असारे विकासको घुम्तीमा आइपुगेको छ । अहिलेसम्म १ खर्ब १४ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । अब मासिक १ खर्ब ६ अर्ब खर्च गर्नुपर्ने अवस्था आएको छ ।