एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको दोस्रो लेगको खेल अगष्टमा हुने भएको छ । कोरोना महामारीपछि स्थगित सिटी र रियालबीचको दोस्रो लेगको खेल अगष्ट ७ मा हुने तय भएको डेलीमेलले जनाएको छ ।

यद्यपि, च्याम्पियन्स लिगले भने आधिकारिक रुपमा रियाल र सिटीबीचको खेलको तालिका सार्वजनिक गरिसकेको छैन । यसअघि गएको फेब्रुअरीमा रियालको मैदानमा भएको पहिलो लेगमा सिटीले २–१ को जित निकालेको थियो । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।

१३ पटकको च्याम्पियन रियाललाई अन्तिम आठमा पुग्न स्पष्ट जितको आवश्यकता छ भने सिटीलाई बराबरी भए पनि पुग्नेछ । कोरोना महामारीपछि गएको मार्चबाट सम्पूर्ण फुटबल गतिविधि स्थगित छन् । तर, जर्मनीको बुन्डेसलिगा भने शनिवारदेखि पुनः सञ्चालनमा आएको छ ।