काठमाडौं । नेपालमा कोरोनाले मानिसको ज्यान जान थालेपछि काठमाडौं उपत्यकाका भित्री सडक र गल्लीमा अहिले एम्बुलेन्स नै छिर्न नमिल्ने गरी तारबार गर्ने गतिविधि बढेका छन् । स्थानीयले मनपरी ढंगले गरेका तारबारले अत्यावश्यक काम परेर बाहिर निस्कनलाई सास्ती भएको छ ।

अत्यावश्यक सेवामा काम गर्नेहरूलाई घर-कार्यालय आउ-जाउमा समस्या भएको छ । गृहमन्त्रालयले भने यसरी तारबार लगाउनु कानुन विपरीत भएको भन्दै कारबाही गरिने जनाएको छ ।

गृह मन्त्रालयले कुनै पनि बहानामा सडक वा बाटो बन्द गर्न नपाइने प्रष्ट पारेको छ । स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्नेलाई कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको हो ।