काठमाडौं । नेपाली मुलका युवा दिवेश पोखरेल १८औं सिजनको अमेरिकन आइडलमा उपविजेता बनेका छन् । सोमवार भएको अन्तिम तथा निर्णायक चरणमा दिवेश भोटिङका आधारमा उपबिजेता बनेका हुन् ।

उनी उपाधिको दावेदार मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन् । अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्ट टु बी’ बोलको पहिलो गीत गाएका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश नै पहिलो नेपाली हुन् ।

अघिल्लो हप्ता टप ७ भित्र परेका दिवेश पोखरेलसँगै जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन् । दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन् ।