काठमाडौं । प्रधानन्यायाधीशसहित सर्वोच्चका १९ जना न्यायाधीश सम्मिलित वृहत् इजलासको फैसला सुन्न केही दिन प्रतिक्षा गर्नु पर्ने भएको छ । सोमवार बसेको वृहत् इजलासको फैसला अब आउने ११ गते आइतवार मात्रै सुन्न पाइने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । सबै न्यायाधीश सम्मिलित वृहत् इजलासमा कोरोनाका कारण म्याद र हदम्याद सकिएका मुद्दाका विषयमा के गर्ने भन्नेबारे बहस भएको छ ।

सरकार, नेपाल बार एशोसिएशन र एमिकस क्यूरीलगायत सबैतर्फको बहस सकिए पनि समय अभावका कारण सोमवार निर्णय आउन नसकेको सूचना अधिकारी ढकालले जानकारी दिए । लकडाउनका कारण अदालतका कतिपय सेवा बन्द हुँदा धेरै मुद्दाको म्याद र हदम्याद गुज्रिएकाे छ ।

तिनै मुद्दाको विषयमा के गर्ने भनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित सबै न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास गठन गरिएको हो । सर्वोच्चमा प्रधानन्यायाधीश सहित २० जनाको दरबन्दी रहेकोमा अहिले एक न्यायाधीशको पद खाली छ ।