काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा लिपुलेकसहितको नयाँ नक्सा पारित भएको पुष्टि गरेका छन् । संघीय संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री खोलीले लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित भएको औपचारिक रुपमा पुष्टि गरेका हुन् । त्यो नक्सा एक दुई दिनमा राजपत्रमा प्रकाशित हुने समेत जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यो देखाउनलाई गरिएको निर्णय नभएको बताउँदै आफ्नो भूमि फिर्ता गराएरै छाड्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले नेपालको संविधानको निशान छापमा रहेको नक्सा फेरिनेतर्फ संकेत गर्दै यो ऐतिहासिक काम हुने बताए । उनले अब हेरक पाठ्यक्रममा नयाँ नक्सा हुने बताए । यस्तै, प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट छिराउन खोजेका कारण रोकेका बताए । उनले संसदलाई आवश्यक लागे एमसीसी मूल ढोकाबाट छिराएरै पास गर्ने उद्घोष गरे । उनले एमसीसी पारि भए पनि वा नभएपनि लफ्सीफेदी–रातमाटे ट्रान्समिसनलाईन सरकारले आधा पेट काटेर भए पनि पटुका कसेर बनाउने घोषणा गरे ।

राजदूतले सरकार बचायो रे ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताबाट निर्वाचित भएर आएको सरकारलाई कुनै देशका राजदूतले बचाइदियो भनेर प्रचार नगर्न चेतावनी दिए । उनले भने, ‘यो सरकार नेपाली जनताले बनाएको हो । कसैले ढाल्ने, ढलाउने नसोचे हुन्छ ।’ उनले अहिले पनि फलानो देशको राजदूत आएर सरकार बचाइदियो भन्दै निम्छरो प्रचार भइरहको आरोप लगाए ।

‘हामी कहिँले कहीँ सुन्ने गर्छौँ, जानै जानै लागेको थियो, राजदूतले बचाइदियो, भन्ने सुनिन्छ। यस्तो कुरा नगरेको राम्रो । यो सरकार नेपाली जनताले बनाएको हो। कसैले ढाल्ने, ढलाउने कसैले नसोचे हुन्छ।’, प्रधानमन्त्रीले भने । उनले आफ्नो सरकारलाई तथाकथित राष्ट्रवाद भनेर नामाकरण गरेको पाइएको पनि बताए ।

‘दुई देशबिचमा रहेको नेपाल जस्तो देशले तथाकथित वा लम्पसारवादको राष्ट्रवाद बोक्नु हुँदैन। एउटा देशको क्याबिनेटमा अर्को देशको राजदूत राख्ने, सीमामा अर्को देशको सुरक्षाफौज राख्ने जस्ता काम भए । कुनै देशको भूगोल जनसंख्या ठूलो वा सानो हुन सक्छ, राष्ट्रियता सानो ठूलो हुँदैन । आफ्नो नीति आफूले तय गर्न, आफूले कार्यान्वयन गर्न पाउनुपर्छ’ ओलीले कड्किँदै भने ।