काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको संशोधित नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक एवं प्रशासनिक नक्सा सार्वजनिक गरिएको हो । गएको सोमवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण पद्मा अर्यालले यो नक्सा पेश गरेकी थिइन् ।

मन्त्रिपरिषद्ले नक्सा सोमवारै पारित गरेपनि बुधवार मात्रै औपचारिक रुपमा सार्वजनिक गरिएको हो । नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ । अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ । अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ । मंगलबार मात्रै संघीय संसदबाट पारित नीति तथा कार्यक्रममा पनि सरकारले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने भनेको थियो ।

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएपछि तीव्र आलोचना भयो । भारतले सडक बनाएको विषयलाई लिएर नेपाल आन्दोलित भएकै बेला भारतीय सेना प्रमुखले भने नेपाल सरकार अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरे । र, भारतीय सञ्चारमाध्यम अहिले पनि नेपाल चीनको उक्साहट लागेको भनी प्रचार गरिरहेका छन् ।