काठमाडौं । नेपाली सेनाले विभिन्न भ्रष्टाचारमा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहित केही आरोपीलाई कारबाही गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुरमा तीन अधिकृतसहित पाँच जनालाई कारवाही गरेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै एक करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ । प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अनियमितता गरेको ठहर गरेको छ ।

अदालतले दुई वर्ष बढुवा रोक्का गरी निजबाट चार लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट बर्खास्त गरी अनियमित भएको तीन लाख ६० हजार असुलउपर गर्ने फैसला गरेको छ ।

त्यस्तै हुद्दा गणेशबहादुर अधिकारीकोे दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी रु १० हजार असुलउपर गर्ने निर्णय गरेकोे छ । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै नसिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।