काठमाडौ। सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेर निशान छापका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै जनता समाजवादी पार्टीका नेताले पूरानै माघ अघि सारेका छन् ।  उनीहरुले विगतदेखि उठाउँदै आएका मुद्दाबारे पनि सँगसँगै संशोधन प्रस्ताव अघि बढाउन माग गरेका छन् ।

जनता समाजवादी पार्टीका नेताले आफूहरुका माग बमोजिम संविधान संशोधनको प्रस्ताव अघि बढाउनका लागि सहयोग गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई समेत गुहारेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका नेताहरुले निशान छापका लागि भइरहेको संविधान संशोधनको प्रक्रिया सँगसँगै आफूहरुका मागबारे पनि संशोधन प्रक्रिया अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकारले मधेशवादी दलका मागबारे संविधान संशोधनको प्रस्ताव दर्ता गरेको थियो । तर, त्यो प्रस्ताव तत्कालीन एमालेको असहयोगका कारण अस्वीकृत भएको थियो । अहिले प्रधानमन्त्री केपी शर्मा ओली उपयुक्त समयमा संविधान संशोधन हुने आश्वासन दिँदै आएका छन् ।