काठमाडौं । सर्च इन्जिन गुगलले नेपालको अद्यावधिक क्षेत्रफल देखाएको छ । नेपाल सरकारले १८१६ को सुगौली सन्धिलाई टेकेर लिम्पियाधुरा, कालापनी र लिपुलेकसमेटिएको नक्शा सार्वजनिक गरेसँगै सर्च इञ्जिन गुगलले नेपालको अद्यावधिक क्षेत्रफल देखाउन थालेको हो । गुगलमा ‘एरिया अफ नेपाल’ भनेर खोज्दा १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर क्षेत्रफल देखाउँछ ।

नेपालले गएको बुधवार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो । जसलाई सरकारले राजपत्रमा प्रकाशित गरेको छ भने संविधानको अनुसूची ३ मा भएको निशान छाप सच्याउन संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ । नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।

भारतले लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश बढेको थियो । भारतले लिपुलेक क्षेत्रमा सडक उद्घाटन गरेको केही दिनमै सरकारले लिम्पियाधुरासम्म भू–भागलाई समेटेर नक्शा जारी गरेको हो ।