काठमाडौं । कोरोना महामारीबीच मुस्लिम समुदायले इद उल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।
विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गर्छ ।
यो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यो वर्ष कोरोना महामारीका कारण काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुन भनिएको थियो । यो पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् ।