काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले भारतसँगको सीमा समस्या र मुलुकको स्वास्थ्यसहितका आधारभूत सेवाबारे चिन्ता व्यक्त गर्दै फेरि सत्याग्रह गर्ने घोषणा गरेका छन्।

दार्चुलामा रहेका डा. केसीले यही २० जेठदेखि दुई दिन अनशन बस्ने घोषणा गरेका हुन्। यसअघि उनी विभिन्न समयमा काठमाडौंका साथै जुम्ला, इलाम र डडेल्धुरामा अनशन बसिसकेका छन्।

सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सीमाक्षेत्रका नागरिकलाई शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न र मुलुकको सार्वभौमसत्ता रक्षा गर्दै भारतले मिचेको नेपाली भूमि फिर्ता लिने प्रक्रिया तत्काल थाल्न माग गर्दै अनशन बस्ने बताएका हुन्।

डा. केसीले विज्ञप्ति मार्फत राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन पनि जोड दिएका छन्। सुदूरपश्चिम लगायत सीमावर्ती नेपाली भूभागका बासिन्दाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारको उचित व्यवस्था गर्ने हो भने सीमा रक्षा र राष्ट्रियता प्रवर्द्धन स्वतः हुने उनले उल्लेख गरेका छन्। भारतले नेपालको सीमा मिच्नु उसको समेत हितमा छैन भनेर बुझाउन सरकारले सक्नुपर्छ। दुवैतिरका सरकारहरुले राष्ट्रवादका नारा उछालिरहने अनि दुवैतिरका नागरिक भोक र रोगसित लडिरहनुपर्ने अहिलेको अवस्था मुठीभर शासक बाहेक कसैको पनि हितमा छैनू, विज्ञप्तिमा भनिएको छ।

डा. केसीले प्रचलित अभ्यास अनुसार लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम हुनुपर्ने समेत बताएका छन्।

भारतले लिपुलेकमा सडक बनाएको समाचार आएसँगै मुलुकमा राष्ट्रवादी नाराहरु लागिरहे पनि सीमाक्षेत्रमा पुगेर नागरिकको पीडा बुझ्ने चासो नेताहरुमा नभएको भन्दै उनले चिन्ता प्रकट गरेका छन्।

राज्य सञ्चालकहरुको उपेक्षापूर्ण व्यवहारका कारण सुदूरपश्चिमको दार्चुला लगायत जिल्लाहरुमा दुई छाक रासन किन्नदेखि आधारभूत स्वास्थ्य सेवा लिनसम्म भारतमा भर पर्नुपर्ने यथार्थ रहेको उनले उल्लेख गरेका छन्। अब वास्तवमै राष्ट्रियता बलियो पार्ने र सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटारबाट हुङ्कार गरेर नपुग्ने डा. केसीको भनाइ छ।