काठमाडौं । रुकुम पश्चिमको हत्या काण्डलाई लिएर काठमाडौंका सडकमा प्रदर्शन भएको छ भने संसदमा हो–हल्ला भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनकैबीच यी गतिविधि भएका हुन् ।

सडकमा प्रदर्शन
अन्तरजातीय प्रेम सम्बन्धले हत्या काण्डको रुप लिएपछि यतिबेला केन्द्रविन्दुमा छ, रुकुमको चौरजहारी नगरपालिका–८ सोती । चौरजहारी–८ सोतीमा जाजरकोटको भेरी नगरपालिका –४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाले सडक, सदन, सञ्चार माध्यम र सामाजिक सञ्जाल सबै तताएको हो । यही घटनालाई लिएर नेपाल दलित विद्यार्थी संघले काठमाडौंंको माइतीघरमा प्रदर्शन गरेको छ । प्रदर्शनकारीले दोषीलाई कडा कारबाही गर्न र घटनालाई राजनीतिक आवरणले छोपछाप नगर्न आग्र गरे ।

जेठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका –४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिसकेको छ । भेरी नगरपालिका–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका–४ का सन्दीप विक बेपत्ता छन् ।

संसदमा होहल्ला
पश्चिम रुकुममा भएको घटनाको विषयलाई लिएर नेकपा सांसद जनार्दन शर्मा बोल्न खोज्दा मंगलवार प्रतिनिधि सभामा कांग्रेस सांसदले होहल्ला गर्दिए । नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेकपाकी पार्वतीकुमारी विशुंखे र समाजवादी पार्टीकी रेणुका गुरुङले बोलेपछि सभामुख अग्नि सापकोटाले गृहमन्त्री रामबहादुर थापालाई समय दिए । सभामुखले समय दिएपछि जनार्दन शर्माले समय माग गरेका हुन् । शर्मा बोल्दा कांग्रेस सांसदले उठेर विरोध जनाए ।

कांग्रेस सांसदले गृहमन्त्रीको जवाफ माग गरेको भन्दै होहल्ला गरे । कांग्रेस सांसदको होहल्लापछि शर्मा सभामुखले दिएको समयमा बोल्न किन नपाउने ?’ म त्यहाँको जनप्रतिनिधि हो भन्दै जंगिए । यसैबीच, सरकारले रुकुमको जातीय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानविन समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कानूनी कठ्घरामा उभ्याएर कारबाही गर्न आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गर्दै अन्तरजातीय विवाहको विषयलाई लिएर भएको अमानवीय घटनाप्रति दुःख व्यक्त गर्दै मसिनो र पक्षरहित छानविन तथा अनुसन्धान गरी घटनामा संलग्न प्रत्येकलाई कानूनी कारवाही गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगले यो घटनालाई जातीय विभेदको पराकाष्ठा भनेको छ । घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अन्य तीन जनाको स्थिति अज्ञात रहेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । देशका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्यसहनशीलता कायम गरी सबै घटनाको मसिनो र कसैको पनि पक्ष नलिई अनुसन्धान गरेर तत्काल कानूनी कारवाही गर्न तथा घटनामा मृत्युवरण गर्नेका परिवारलाई आर्थिक सहायता एवं परीपूरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।