काठमाडौं । स्थानीय वायु सक्रिय भई बनेको न्यूनचापीय प्रणालीका कारण देशभरको मौसम बदली भएको छ । मौसम बदली हुँदा बुधवार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार फेरि पश्चिमी वायुको प्रभाव पर्ने देखिएकाले मौसम केही दिन बदली भइरहने देखिन्छ ।

मौसमविद सजिना शाक्यले बिहीवार काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जानकारी दिइन् । प्रि–मनसुनी सिजनमा सामान्य खालको मौसमी प्रणालीले पनि पानी पार्ने सम्भावना रहन्छ । यस्तै, यो वर्ष नेपालमा ढिलो गरी मनसुन भित्रिने अनुमान मौसमविदले गरेका छन् ।

सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन भित्रिने गर्दछ भने २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यो वर्ष नेपालमा कम्तिमा एक हप्ता ढिलो गरी मनसुन भित्रिने अनुमान मौसमविदले गरेका छन् । पोहोर साल पनि नेपालमा १० दिन ढिलो अर्थात् २० जुन (५ असार)मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । यो पल्ट मनसुनी समयमा औषत वर्षा हुने पूर्वानुमान गरिएको छ ।