काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वान गरेकी छन् । स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् । राष्ट्रपतिले सन्देशमा, ‘यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु ’ भनेकी छन् ।

सदाकाल स्वाधीन राष्ट्रका रूपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान गर्ने पूर्वजहरूको योगदानको स्मरण गर्दै राष्ट्रपतिले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अभिप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन हार्दिक आह्वान पनि गरेकी छन् ।

थप गौरव गर्ने वातावरण : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छन् ।