काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई राष्ट्रियताका विषयमा राजनीति नगर्न भनेको छ । बिहीवार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टीको निर्णय र धारणालाई जथाभावी व्याख्या नगर्न भनेका हुन् ।

कार्यसूचीबाट संविधान संशोधन प्रस्ताव हटेको विषयलाई कांग्रेससँग जोड्नु गलत भएको उनको भनाई छ । प्रवक्ता शर्माले निशान छाप संशोधन गर्ने विषयलाई केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराउने पार्टीको धारणाप्रति अनावश्यक व्याख्या गरिएको तर्क गरे । उनले नेपालको कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र भूमि फिर्ता हुनुपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गरे ।

शर्माले भूमि फिर्ता ल्याउने विषयमा सरकार प्रपोगाण्डामा लागेको तर्क पनि गरे । प्रवक्ता शर्माले कोरोना नियन्त्रण गर्न सरकार असफल भएको आरोप समेत लगाए । राहत, वितरण, विदेशमा रहेकाको उद्धार, सीमामा रहेकालाईभित्र ल्याउने विषयमा सरकार कार्यक्रमविहीन भएको उनको भनाई छ । कांग्रेसले संविधान संशोधनको बिषयमा आधिकारीक धारणा तय गर्न शनिवार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ ।