काठमाडौं । २०६४ सालदेखि मनाउन थालेको अन्तर्राष्ट्रिय सगरमाथा दिवस पहिलो पटक सुनसान भएको छ। अहिले कायम ८,८४८ मिटर उचाइको सर्वोच्च शिखरमा मानव पाइला परेको दिन २९ मे, १९५३ को सम्झना र आरोहीको सम्मानका लागि यो दिवस मनाउन थालिएको हो।

यो पल्ट आरोहणको हिसावले ६७औं सगरमाथा दिवस तथा १३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो। तर, यो पल्ट सगरमाथा दिवस पर्यटन मन्त्रालयभित्रै २५ जना भन्दा कमको संख्यामा उपस्थित भएर मनाइएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

पहिलो सगरमाथा आरोहीको तस्वीरमा माल्यार्पण गर्ने, कीर्तिमानी आरोही कामीरिता शेर्पासहितको सानो समूहबीच सम्झनाका लागि मात्रै कार्यक्रम मनाइने गरी निर्णय भएकाले छोटो आकारको कार्यक्रम गरी दिवस मनाइएको घिमिरे बताउँछन्। नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाका अनुसार अहिलेको परिस्थिति अनुसार सम्झनाका लागि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीको सम्मान स्वरुप मात्रै सगरमाथा दिवस भएको छ।

सरकारले औपचारिक कार्यक्रम गर्ने देखि निजी क्षेत्रमा उत्साह जगाउने गरी कुनै पनि कार्यक्रम गर्न सक्ने अवस्था लकडाउन र कोरोनाभाइरस संक्रमणका कारणले नभएको लामा बताउँन्।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा वर्षेनि प्रदान गर्ने गरी घोषणा गरिएको पुरस्कार तथा आरोही सम्मानको काम कोरोना रोकथामपछि गरिने छ । पर्यटन दिवस वा अन्य कुनै समारोहणको अवसर पारेर १ लाखको सगरमाथा राष्ट्रिय पुरस्कार एक जनालाई र ५० हजारको तेन्जिङ हिलारी पुरस्कार दुई जनालाई गरी जम्मा २ लाखको धनराशि वितरण गर्ने व्यक्ति छनोटसमेत केही समयलाई पछाडि धकेलिएको उल्लेख छ।

आरोही कल्याण कोष

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आरोहीको वृद्धि विकासका लागि आरोही कोष बनाउने घोषणा गरेका छन् । ६७ औं सगरमाथा दिवस तथा १३औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले सो कोष बनाउने बताएका हुन्।

नेपाली आरोहीको जीवनरक्षाका लागि सरकारले ठोस योजना सहितको कोष स्थापना गर्ने भएको मन्त्री भट्टराईले बताए। उनले भने, ‘कोषमा पर्यटन र वैदेशिक क्षेत्रबाट पनि योगदान गर्न मिल्ने छ ।’ मन्त्री भट्टराईले भने, ‘कानूनी हिसाबले पर्वतारोहणलाई व्यवस्थित गर्दै छौं । यसका लागि सरकारले छिट्टै नयाँ पर्यटन ऐन नै ल्याउने गरी तयारी गरिरहेको छ ।’ आरोहणको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने र नेपालको पर्वतारोहणमा थप सहयोग गर्ने गरी ऐन आउने उल्लेख छ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा थुप्रै व्यक्तिको सम्मान र पुरस्कार कोभिड १९ ले हुन सकेन् । कोरोना नियन्त्रण तथा रोकथाम भएपछि पर्यटनमा पुनः नयाँ रक्तसञ्चार हुने र त्यसपछि अहिले रोकिएका कार्यक्रम हुने पनि मन्त्री भट्टराईले बताए ।

उनले सगरमाथा भएको मुलुकको रुपमा गर्व गरिरहँदा सगरमाथा सफाइ र आरोहण व्यवस्थित गर्नमा थपिएको चुनौतीलाई पनि सामना गर्दै जानुपर्ने अवस्था आइरहेको पनि उल्लेख गरे।

सम्झना
पहिलो सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको मृत्युपछि उनीहरुको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । शेर्पाको २६ वैशाख २०४३ मा मृत्यु भएको थियो भने हिलारीको २७ पुस २०६४ मा निधन भएको थियो ।

आरोही दुवैको सम्झना तथा अविश्वसनीय उपलब्धि र योगदानको कदर गर्दै नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०६४ देखि मनाउन मनाउन थालेको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा पर्वतीय पर्यटनविद् आङछिरिङ शेर्पाले बताए ।

शेर्पा नै पर्वतारोहण संघको अध्यक्ष हुँदा सगरमाथाको सम्झना र आरोहीको कीर्तिमानलाई संसारभरि वर्षेनि सम्झने गरी मनाउन प्रस्ताव गरे अनुसार सरकारले २९ मेलाई भव्यताका साथ मनाउन थालेको सम्झन्छन् ।

त्यही वर्षदेखि सोलुखुम्बुको लुक्लालाई तेन्जिड हिलारी विमानस्थल कायम गरिएको थियो भने चोयू र सगरमाथाबीचमा रहेका ७ हजार मिटरका दुई हिमाललाई दुवै आरोहीको नाममा एउटालाई तेन्जिङ र अर्कोलाई हिलारी पिक नामकरण गरिएको पनि शेर्पाले जानकारी दिए।

नेपालले दुवै आरोहीको सम्झनामा गरेको प्रयासलाई सन् २००८ कै अन्तर्राष्ट्रिय क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडेरेसन ९यूआईएए० बाट समेत स्वीकृत गराएपछि मे २९ मा मनाइने यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको पनि एनएमएका अध्यक्ष शेर्पा सम्झन्छन्।

२९ मे १९५३ मा एण्डमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा मानव पाइला टेकेपछिको पहिलोपटक हिमाली गतिविधि शून्य भएको हो । यसअघि आरोहण भएपनि नभएपनि आरोहीको गतिविधि रोकिएको थिएन।

यसअघि २०७१ को वसन्त ऋतुमा हिउँ पहिरो गएका कारण र २०७२ मा भूकम्पले आरोहण भएको थिएन । त्यतिबेला सबै आरोही सगरमाथा पुगिसकेका थिए । आरोहण नभएपनि हिमाली अर्थतन्त्र भने चलायमान नै थियो भने सगरमाथा दिवससहितका कार्यक्रम गरेर सरकारी र निजी क्षेत्र सक्रिय नै रहेका थिए।

सगरमाथामा अहिलेसम्म करीब ६ हजार ६ सय जनाले पाइला टेकिसकेका छन् । पछिल्ला वर्षमा पाँच सय जना भन्दा बढीले सगरमाथा चुम्न थालेका छन् । सगरमाथा आरोहणका लागि भने वर्षेनि १५ सय जना आधार शिविर पुग्ने गरेका छन् । सगरमाथा आरोहणबाट सरकारी रोयल्टी नै वार्षिक ५० करोड पुग्न थालेको छ।