काठमाडौं । मुख्य विपक्षी कांग्रेसले पुनः मुद्रण भएको नक्सा र संविधानको अनुसूची संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको प्रस्तावमा संविधान संशोधनका पक्षमा मतदानका लागि कांग्रेस संसदीय दललाई निर्देशन दिएको हो ।

सरकारले हालै सार्वजनिक गरेको नक्सा समेटेर संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन प्रस्ताव दर्ता भएको छ । संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माले नेपालको भूमि फिर्ता गर्न भारतसँग उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने र यो विषयमा सरकारलाई सहयोग गर्ने बताए ।

संविधान संशोधनबारे कांग्रेसलाई विभिन्न आरोप लगाइएको भन्दै उनले राष्ट्रियताबारे कांग्रेस दृढ रहेको बताए । त्यस्तै बैठकले कोरोना रोकथाम नियन्त्रण र रोकथामका लागि प्रयाप्त पहल गर्न र पीसीआरको जाँच र भेन्टिलेटरको संख्या बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै विदेशमा रहेका नेपालीको अविलम्ब उद्धार गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।